संघीय समाजवादी फोरममा विजय सरावगी प्रवेश गरेको करिब ६ महिना मात्र भयो । तर, प्रवेशसँगै स्थानीय निकायमा उनको उम्मेदवारीको चर्चा सुरु भएको थियो।
वीरगञ्ज महानगरपालिकाको मेयरमा पार्टीका जिल्ला अध्यक्ष प्रदीप यादव उम्मेदवार हुने चर्चा सरावगीको पार्टी प्रवेशसँगै सेलाएर गयो।
वीरगञ्जमा सरावगीले केन्द्र र जिल्ला नेतालाई हाल चल्तीमा रहेको स्क्रिोपियो गाडी भेटमा दिएको चर्चा छ । त्यति मात्र होइन, उनका विपक्षीले सरावगीले राजनीतिलाई आफ्नो नयाँ व्यवसाय बनाएको भन्ने आरोप समेत खुलेरै लगाइरहेका छन् । सरावगीले वित्तीय क्षेत्र र व्यवसायमा प्रभुत्व जमाएका धनाढ्य उम्मेदवारको पगरी समेत पहिरेका छन्।
सामाजिक सञ्जालमा र विपक्षीले भने जस्तै कतै सरावगीको नयाँ व्यवसाय बनेको त छैन राजनीति ? उनले गाडी दिएरै टिकट किनेका हुन् त ? आफूलाई लागेका आरोपबारे सरावगी के भन्छन् र कस्ता छन् उनका योजना?
नेपाल लाइभका लागि वीरगञ्जमा रुपेश श्रेष्ठले गरेको कुराकानी:
तपाईं त व्यापार व्यवसाय गरिरहेको मान्छे । राजनीतिमा कसरी रुचि भयो?
– हेर्नुस्, राजनीतिमा मान्छे बाध्य भएर आउँछ । २०४६ सालको आन्दोलनपछि जब प्रजातान्त्रिक शक्तिहरु सत्तामा आए, हामीलाई के लाग्यो भने वीरगञ्जलाई सबैले बुझेको छ । यो एउटा पोटेन्सियल ठाउँ हो । देशको ठूलो राजस्वको स्रोत नै वीरगञ्ज हो । यो एउटा ट्रान्जिट सहर हो, वाणिज्य र उद्योगको क्षेत्र हो । आर्थिक नगरी नै भनिन्थ्यो। राजनीति बुझ्ने साथीहरुले यसलाई गन्तव्य बनाउँछन् होलान्।
भारतमा मुम्बइलाई आर्थिक राजधानी भनिएजस्तै यसलाई पनि स्पेस दिएर काम गर्छन् होला भन्ने लागेको थियो । तर उल्टो, राजनीति गर्ने हाम्रा साथीहरुले २०६२/६३ को आन्दोलनपछि वीरगञ्जलाई तगारो बनाउनुभयो । आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न ब्लक गर्नुभयो । उनीहरु भन्थे, तपाईंहरु यो ब्लकेडलाई साथ दिनुहोस्, हामीहरु तपाईंको हरेक नोक्सानीलाई क्लियर गर्छौं । तर, आजसम्म एक पैसा पनि दिएनन् । यो वीरगञ्ज त्यसपछि कुरुप हुँदै गयो । यहाँका मानिसहरु पलायन हुँदै गए । अपराधीहरु बढ्दै गए । यस्तो अवस्था आयो कि, सवा–सय वर्षदेखि परिवार भएका हामीहरु नै सोच्न बाध्य भयौं कि हाम्रो भविष्य यहाँ छ कि छैन?
पढाइपछि वीरगञ्जमै भेट्न चाहन्छौ भन्ने हाम्रो बच्चाहरुले प्रश्न गर्न थाले कि, वीरगञ्जमा के छ त जीवन ? जीवनको गुणस्तरियता के हो भनेर उनीहरुले प्रश्न गर्न थालेका छन् । यहाँका धेरै बच्चा बाहिर गएका छन् । अस्ट्रेलिया, अमेरिका, बेलायत गएर बसेका छन् । तर सबै विदेशमै बस्दैनन् । उनीहरुले यहीँ गुणस्तरीय जीवन खोजेका छन्।
आज वीरगञ्जमा आठ बजे नै कर्फ्यु जस्तो हुन्छ । नाइट लाइफ भन्ने केही छैन । हामी नै खाना खान रेस्टुरेन्टमा बसिरहेका छौं भने पनि प्रशासन आउँछ र उठाइदिन्छ । यहाँका मान्छेले कुनबेला सोसल लाइफ इन्ज्वय गर्ने, के क्रियाकलापमा लाग्ने भन्ने एकदमै समस्या छ।
तर, व्यापारीहरु व्यापारभन्दा राजनीति नै बढी फाइदामूलक क्षेत्र हो भनेर आकर्षित हुन्छन्, भनिन्छ। त्यस्तो हो ?
– म त्यो मान्दिनँ । किनभने आज हाम्रो देशमा जो ठूल्ठूला राजनीतिज्ञ छन्, ती व्यापारी भएका छन् । तिनीहरुको पैसा हामी जस्तै कुनै न कुनै व्यापारीले चलाइरहेको छ । एउटा राजनीतिज्ञ व्यापारी भएको छ भने एउटा व्यापारी किन राजनीतिज्ञ हुन नसक्ने ? किनकि, उनीहरुले त विकास गर्न सकेका छैनन् । यहाँ एउटा अभाव देखिएको छ । त्यसलाई पूरा गर्न हामीले उनीहरुलाई चुनेर पठायौं । उनीहरुले २८ वर्षमा त्यही गर्न नसकेर हामी जस्तो मानिसले व्यापार छोडेर राजनीतिमा प्रवेश गर्नुपर्यो । म वीरगञ्ज बनाउन मात्रै राजनीतिमा आएको हुँ । अबको पाँच वर्ष मेरो व्यापार, समाज र परिवार छोडेर भए पनि वीरगञ्जलाई दिन्छु । आउने सन्तानले यो नभनोस् कि हाम्रा पुर्खाहरुले वीरगञ्ज बनाउन केही गरेनन् । किनकि, राजनीतिज्ञले केही गर्न सकेनन् । असफल भए।
आज हामी जस्तो मान्छे अगाडि आएका छन् । विश्वमा जुन-जुन देशहरु अल्पविकसित रहे, त्यहाँ व्यवसायी साथीहरुले नै अगाडि बढाएका छन् । आज मलाई खान पुगेको छ । मसँग त्यति धन छ । भोलिका दिनमा त्यहाँ गएर कमसे कम म भ्रष्टाचार त गर्दिनँ नि!
अरु धेरै पार्टीहरु थिए। त्यहाँबाट पनि तपाईंलाई अफरहरु आए होलान् । संघीय समाजवादी फोरम नै किन रोज्नुभयो?
– हामीले सुरुदेखि नै कांग्रेसलाई जिताएका हौं । तर, उहाँहरुले हामीलाई कहिल्यै पनि गम्भीर अवसर दिनुभएन । बरु पैसा दिने मेसिन ठान्नुभयो । त्यतिका लागि प्रयोग गर्नुभयो । तर, हामीलाई समस्या आएको बेला भागेर जानुभयो । जस्तो ६ महिना मधेस बन्द भयो । तर, सत्ता र पार्टीका एउटा पनि नेता वीरगञ्जमा बसेनन्।
ती मान्छेहरु जब काठमाडौं गएर बसे, मधेसमा एकदम बिचल्ली भयो । ६/६ महिना चलेको आन्दोलनलाई सेटल गराउनु राज्यको दायित्व होइन ? दुई-तीन पटक सम्झौता भयो, त्यसलाई राज्यले किन सम्बोधन गर्न सकेन ? यदि मधेसको माग गलत थियो भने उहाँहरुले भन्न सक्नुपर्थ्यो, यो-यो माग जायज छैन र यो माग हामी मान्न सक्दैनौं, स्वीकार्य छैन । तर, पछि आएर मुद्दा पनि मानियो । संशोधन प्रस्ताव दर्ता पनि गरियो।
अब पटक-पटक बुलेट र ब्यालेटको खेल नखेल्ने र बुलेटको जवाफ ब्यालेटबाटै दिने भनेर हाम्रो पार्टीले संघर्षको पुरानो बाटो त्याग्यो । ६०१ को जुन खेल चलिरहेको छ, त्यसमा स्थापित भएर हाम्रो माग पूरा गराउँछौं भनेर हाम्रो पार्टी त्यतातिर लाग्यो।
जनतासँग के एजेन्डा लगिराख्नुभएको छ ? के भनिराख्नुभएको छ ?
– मैले धेरै ठूल्ठूलो एजेन्डा लग्न चाहिनँ । मलाई वीरगञ्जलाई पुरानै वीरगञ्ज बनाउनु छ । ४६ भन्दा अगाडिको वीरगञ्ज बडो समृद्ध र राम्रो वीरगञ्ज थियो । त्यसपछि यो ठाउँमा लुटतन्त्र भयो । एउटा राजालाई हामीले हटाएर हजारौंलाई राजा बनाइदियौं । यहाँका नहरहरु कार्यकर्तालाई बाँडिदिए । धाराको पाइपसम्म कार्यकर्तालाई बाँडिदिए । यसरी वीरगञ्जको समग्र विकास नै हुन सकेन । यो बाध्यताले मलाई खिचेर ल्याएको छ।
यो पाँच वर्षमा वीरगञ्जमा गर्नैपर्ने कामहरु के-के देख्नुभएको छ?
– म वीरगञ्जलाई एउटा गन्तव्य वीरगञ्ज बनाउन चाहन्छु । यहाँ हरेक मान्छे वीरगञ्जमा लगानी गर्न चाहोस्, वीरगञ्जमा उद्योग खोल्न चाहोस् । यसैलाई शिक्षा, स्वास्थ्य र मनोरञ्जनको हब बनाउन चाहोस् । हरेक मान्छेले रोजगार पाउने ठाउँ बनोस् । रोजगारीको लागि कुनै पनि युवा यहाँबाट पलायन नहोस्।
त्यसरी रोजगारीको अवसर सिर्जना गराउने योजना चाहिँ के छ त ?
– मैले कुरा गरेको गन्तव्य वीरगञ्जले यहाँ २० हजार रोजगारी सिर्जना गराउँछ । यहाँ हुने आर्थिक क्रियाकलाप र हबहरुले त्यो अवसर सिर्जना गराउँछ । यहाँका महिलाहरुका लागि मैले सासू–बुहारी योजना ल्याएको छु । यहाँ बिहान र बेलुका खाना पकाउने बीचको समयमा गृहिणीहरु दिउँसो खाली हुन्छन् । दिनभर झगडा गरेर बस्ने समयलाई लघुउद्यममा जोड्न सकिन्छ । युवा साथीहरुलाई प्राविधिक शिक्षा उपलब्ध गराएर वीरगञ्ज, नेपालकै अन्य ठाउँ वा विदेशमा पनि कमाउने अवसर सिर्जना गर्न सकिन्छ । उनीहरु सेलिब्रेटी बन्न सक्छन्।
वीरगञ्जलाई अझै समृद्ध बनाउन लागि के गर्नुहुन्छ?
– मैले सेवाग्राहीको रुपमा भोगेका समस्याहरुलाई कसरी समाधान गर्न सकिएला भनेर मैले जहिले पनि सोचिरहेको हुन्छु । मैले जनताको ढोका-ढोकामा पुग्दा जनताले जे-जे समस्या मलाई बताए त्यसलाई मैले संकलन गरेको छु । मलाई एउटा खाका पनि आएको छ, वीरगञ्जलाई कसरी विकास गर्न सकिन्छ भनेर । म त्यही खाका अनुसार डिजाइन गर्छु।
उनीहरुले खानेपानी र रोजगारको कुरा बढी गरिरहेका छन् । उनीहरुको मैले मानसिकता बिल्ड अप गरिहेको छु । समस्या यतिमात्रै होइन भनिरहेको छु । बच्चालाई शिक्षा दिनुपर्यो । स्वास्थ्य स्थिति राम्रो हुनुपर्छ। बाटोघाटो राम्रो हुनुपर्यो । बालबच्चाको भविष्य राम्रो हुनुपर्यो । मैले उनीहरुलाई यस्ता कुरा भन्दाखेरी उनीहरु भन्छन्– हामीले यस्तो त कहिल्यै सोचेकै छैन। यही खाका मैले उनीहरुलाई दिइरहेको छु । उनीहरुले स्वीकार गरिरहेका छन् । मलाई लाग्छ, उनीहरुले मेरो कुरामा विश्वास गरेका छन् र मेरो विगतका क्रियाकलाप हेरेर उनीहरुले मलाई पक्कै जिताउँछन्।
राजनीतिक पार्टीहरुले उद्योगी-व्यापारीहरुलाई किन टिकट दिइरहेको होला जस्तो लाग्छ?
– यो कुरा मिडियामा बारम्बार आइरहेको छ । राष्ट्रिय पार्टीहरुले व्यापारीलाई पैसा जोहो गर्न सभासद पद दिएका छन् । बिना पैसा कुनै पनि राजनीतिक पार्टीहरुले व्यावसायिक साथीहरुलाई सभासद बनाएकै छैनन् भन्ने मलाई लाग्छ । अर्को कुरा, सबैलाई थाहा छ कि राजनीतिक पार्टीहरुलाई हामी जस्तै व्यवसायीले चन्दा दिएपछि मात्रै उनीहरुले चुनाव लड्न सक्छन् । त्यसमा हामीलाई बढी प्रयोग गर्न चाहन्छन् । अहिले पनि कुरा आइरहेको छ, उनीहरुले एउटा वडाको टिकट पनि पैसा लिएर बेचिरहेका छन्।
यसलाई यसरी बुझौं, तपाईंले पनि पार्टीमा केही लगानी गर्नुभयो र टिकट पाउनुभयो।
– हाम्रो पार्टी अहिले त्यसरी बढी पैसा खर्च गर्ने परिपाटीमा गएको छैन । स्पष्ट निर्देशन छ, साढे सात लाखको सिलिङ तोकेको छ । म जुन दिनदेखि उम्मेदवार भएँ, त्यसै दिनदेखि साढे सात लाख खर्च मेन्टेन गर्ने प्रयास गरिरहेको छु । तर, जसरी चुनाव सारियो, त्यसले हामीलाई दुःख दिएको छ । हाम्रो खर्च विगतमा पनि भइसकेको छ । तर, निर्वाचन आयोगको खर्चबारेको प्रावधान गलत छ । किनकि, नेता छान्ने अधिकार जनतालाई छ र जनताले आफ्नो नेतालाई चन्दा दिन सक्छ । उसले पाएको चन्दा पारदर्शी ढंगले पाउनुपर्छ । त्यसलाई खर्च गरेर हिसाब पेश गर्नेगरी खर्च गर्न दिनुपर्छ। यसरी खर्चमा सीमित गर्दा उम्मेदवारले आफ्ना कुरा नै पुर्या उन सक्दैन । साढे सात लाख रुपैयाँमा महानगरका ३२ वटा वडामा कसरी कुरा पुर्या उन सकिन्छ ? यो त भ्रष्टाचार सिकाउने काम हो । यसलाई परिमार्जन गर्न म आग्रह गर्छु।
अहिले चुनावमा अत्यधिक खर्च भइरहेको छ । म व्यावसायिक क्षेत्रको मान्छे भएकाले उहाँहरुले के बुझ्नुभएको छ भने मैले पैसा लिएर टिकट पायो होला । स्कोर्पियो गाडी बाँडेर टिकट लिएको आरोप लगाइदिए । आरोप लगाउन सजिलो छ । कसैले सिद्ध गर्छ भने म मेरो राजनीतिक जीवन आजैदेखि त्याग गर्छु।